(१) कुनै सम्पर्क अधिकृत, पर्वतारोही दलका सदस्य, सरदार, पर्वतीय पथ प्रदर्शक, उचाईमा जाने कामदार, आधार शिविरका कामदार तथा स्थानीय कामदारको मृत्यु भएमा सम्वन्धित पर्वतारोही दलको नेताले त्यस्तो मृतकको शरीर हिमनदीमा नपर्ने गरी आधार शिविरदेखि तल्लोे भागमा लगी व्यवस्थापन गर्नु पर्नेछ ।
(२) कुनै पर्वतारोही दलको नेताको मृत्यु भएमा त्यस्तो पर्वतारोही दलको सदस्यले र एक सदस्यीय पर्वतारोहीको वा पर्वतारोही दलका सबै सदस्यको मृत्यु भएमा सम्बन्धित पर्वतारोहणको व्यवस्था मिलाउने संस्थाले मृतकको शरीर हिमनदीमा नपर्ने गरी आधार शिविरदेखि तलको भागमा लगी व्यवस्थापन गर्नु पर्नेछ ।
(३) हिम दरार (क्रेभास) मा परी, हिम पहिरोमा पुरिई वा अन्य कारणबाट पर्वतारोही दलको सदस्य, कामदार वा पर्वतारोहीसँग सम्बन्धित अन्य व्यक्तिको मृत्यु भई मृत शरीरको अवस्थिति एकिन नभएमा सम्बन्धित पर्वतारोहणको व्यवस्था मिलाउने संस्था, पर्वतारोहण दल, सम्पर्क अधिकृत र खोज तथा उद्धार कार्यमा संलग्न अन्य व्यक्तिले सोही व्यहोराको प्रतिवेदन मन्त्रालयमा पेश गर्नु पर्नेछ ।
(४) उपनियम (३) वमोजिमको प्रतिवेदन प्राप्त भएमा मन्त्रालयले त्यस्तो मृत शरीर फेला परेका बखत हिमनदीमा नपर्ने गरी आधार शिविरभन्दा तलको भागमा ल्याई व्यवस्थापन गर्न सम्वन्धित पर्वतारोहणको व्यवस्था मिलाउने संस्थालाई आदेश दिई सो सम्वन्धमा त्यस्तो संस्थाको प्रमुखको कवुलियत गराउनु पर्नेछ ।
(५) उपनियम (४) वमोजिम मन्त्रालयले दिएको आदेश वा कवुलियतनामामा उल्लेख भएका शर्तको पालना गर्नु सम्बन्धित पर्वतारोहणको व्यवस्था मिलाउने संस्थाको कर्तव्य हुनेछ ।
(६) उपनियम (३) बमोजिम प्राप्त भएको प्रतिवेदन गलत ठहरिएमा मन्त्रालयले त्यस्तो पर्वतारोहणको व्यवस्था मिलाउने संस्था, पर्वतारोही दल, सम्पर्क अधिकृत र खोज तथा उद्धार कार्यमा संलग्न व्यक्ति मध्ये सरकारी कर्मचारीलाई प्रचलित सेवा, शर्त सम्वन्धी कानून वमोजिम र अन्य व्यक्तिलाई प्रचलित कानून वमोजिम कारवाही गर्न सम्वन्धित निकायमा लेखी पठाउनु पर्नेछ ।
तर मन्त्रालय अन्तर्गतका कर्मचारीलाई आफैले कारबाही गर्नु पर्नेछ ।
(७) यो नियमावली प्रारम्भ हुनु अघि हिमशिखरमा मृत्यु भएका पर्वतारोही दलको सदस्य वा अन्य व्यक्तिको मृत शरीरको व्यवस्थापन सम्वन्धमा मन्त्रालयले आवश्यक व्यवस्था गर्न सक्नेछ ।